धरानमा नवजात शिशु चोरी गर्ने २ महिला पक्राउ

सुनसरी असार २६ गते ।
धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिरामी तथा कुरुवा निदाएको मौका छोपी नवजात शिशु चोरी गर्ने २ महिलालाई प्रहरीले बिहीवार पक्राउ गरेको छ ।
भोक्राह-नर्सिङ गाउँपालिका-१ बस्ने बविता मेहतालाई सुत्केरी व्यथा लागेर गत असार १० गते वि.पी. प्रतिष्ठान धरान लगिएकोमा १३ गते शिशुलाई जन्म दिए पश्चात आमा र शिशुको सोही अस्पतालको गाईनो वार्डमा राखि उपचार भईरहेकोमा राती १२:२५ बजेको समयमा विरामी कुरुवाले शिशुलाई नदेखे पछि खोजी गर्दा कहि फेला नपरेकोले प्रहरीमा खबर गरेका थिए ।
घटनाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोली र पिडितको सहयोगमा शिशुको खोजतलास गर्ने क्रममा केही दिन अगाडी अस्पताल परिसरमा सुत्केरी तथा बच्चाको रेखदेख गर्ने बहानामा आएकी धरान-५ देवी गाउँ बस्ने बर्ष २७ की लीला बिश्वकर्माले शिशुलाई चोरी गरि भाउजु नाता पर्ने धरान १५ बगरकोट बस्ने बर्ष ४२ की मीना लिम्बु (बिश्वकर्मा) को घरमा शिशुलाई लुकाई राखेको अवस्थामा आज बिहान सवा ३ बजे फेला पारिएको हो ।
उक्त स्थानबाट प्रहरीले निजहरु दुवै जनालाई नियन्त्रणमा लिई नवजात शिशुको उद्धार गरि परिवारको जिम्मा लगाईएको हो भने दुवै जनालाई शरिर बन्धक सम्बन्धि मुद्धामा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।