संखुवासभा र झापामा सवारी दुर्घटना, २ को मृत्यु, ३ घाइते

विराटनगर, चैत्र १० गते ।

प्रदेश नम्बर १ को संखुवासभा र झापा जिल्लामा आज भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । संखुवासभाको सभापोखरी गाउँपालिका-४ खेवरिङ भन्ने स्थानमा सडक खन्ने क्रममा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
 
बिहान ९ बजे स्काभेटर लगाएर बाह्रबिसे बजार देखि सडक खन्ने क्रममा माथिबाट ढुंगा खसेर स्काभेटरमा लाग्दा स्काभेटर उछिटिएर सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा स्काभेटर चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका-१ बस्ने बर्ष २१ को पतरुस श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 
 
त्यसैगरी मेची राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका-१२ खरेडागीमा टेम्पोलाई मोटरसाईकलले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको मे १ ह ५३१० नम्बरको टेम्पोमा बाटो काट्ने क्रममा सोही दिशाबाट आउँदै गरेको बा ८१ प ८०५ नम्बरको मोटरसाईकल पछाडिबाट ठोक्किएर दुर्घटना भएको थियो ।
 
बिहान साढे ११ बजे भएको उक्त दुर्घटनामा मोटरसाईकल चालक विर्तामोड नगरपालिका-२ बस्ने वर्ष २४ को सौरभ घिमिरे गम्भीर घाइते भई उपचारको लागि वि.एण्ड.सी. अस्पताल विर्तामोड लैजाने क्रममा बाटोमा  नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।
 
दुर्घटनामा मोटरसाईकलको पछाडी सवार विर्तामोड नगरपालिका-८ बस्ने वर्ष २७ की सीता भट्टराई, टेम्पो चालक मेचीनगर नगरपालिका-१२ बस्ने बर्ष ५६ को राज फागो घाइते भई वि.एण्ड.सी. अस्पताल विर्तामोडमा उपचार भईरहेको  छ भने टेम्पोमा सवार झापा बुद्धशान्ति गाउँपालिका-३ बस्ने वर्ष ७१ को कुल बहादुर चेम्जोङको मनकामना अस्पताल चारआलीमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ । दुवै सवारी साधनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।