छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मत्यु, २ घाइते

विराटनगर, माघ २७ गते ।

१ नम्बर प्रदेशको मोरङ र ईलाम जिल्लामा आइतवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मोरङको विराटनगर महानगरपालिका-३ बरगाछी चोकमा ट्रिपरको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।
 
बिहान पौने ८ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ७०९२ नम्बरको ट्रिपरको ठक्करबाट तत्काल पहिचान खुल्न नसकेका मागी खाई हिड्ने पैदल यात्री अन्दाजी बर्ष ३५ को पुरुष व्यक्तीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 
 
ठक्कर दिने ट्रिपर र चालक सुनसरी खनार-५ बस्ने बर्ष ५६ को नुना सरदारलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने मृतकको शव परिक्षणको लागि कोशी अंचल अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ ।
 
त्यसैगरी ईलामको देउमाई नगरपालिका-१ देउरालीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मेची राजमार्ग अन्तर्गत पाँचथरबाट ईलाम तर्फ आउँदै गरेको को. १ त. ४२६७ नम्बरको ट्याक्टर घुमाउरो बाटो मोड्ने क्रममा अनियन्त्रित भई बिहान सवा ९ बजे सडकबाट ६० मिटर तल खसेर दुर्घटना भएको हो ।
 
दुर्घटनामा चालक देउमाइ नगरपालिका-२ भदौरे बस्ने बर्ष २६ को सुमन गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो भने ट्याक्टरमा सवार  इलाम नगरपालिका-८ बस्ने बर्ष १५ को लिला आचार्य र ताप्लेजुङ याङदुम्बा-६ बस्ने बर्ष १७ को रविन शंकर घाइते भई उपचारको लागी जिल्ला अस्पताल इलाम पठाईएको छ । मृतकको शव कानूनी प्रकृया पश्चात पोष्टमार्टमको लागि जिल्ला अस्पताल इलाम पठाईने जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।