आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

मोरङ, भाद्र २५ गते ।
 
विश्व आत्महत्या रोकथाम दिवस (September 10) को अवसरमा आत्महत्या रोकथाम सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । भाद्र २४ गते बिहान ८ बजेको समयमा कानेपोखरी गाउँपालिका वडा नं. ६ स्थित जनसेवा माध्यमिक बिद्यालयको प्राङगणमा कानेपोखरी गाउँपालिका, जनसेवा माध्यमिक बिद्यालय र ईलाका प्रहरी कार्यालय पथरीको संयुक्त आयोजनामा सो कार्यक्रम संचालन गरिएको थियो ।
 
कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्लेको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी राज अधिकारी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठ, कोशी अंचल अस्पताल विराटनगरका मनोचिकित्सक डा. रोशन पोखरेल, स्थानिय जनप्रतिनिधी, बिभिन्न राजनितिक दलका प्रतिनिधी, बिभिन्न संघ संस्थाका पदाधिकारी, स्थानियवासी, भद्र भलादमी, नागरिक समाज, शिक्षक वर्ग, बिद्यार्थी, संचारकर्मी तथा अन्य प्रहरी कर्मचारी समेत गरी अन्दाजी ५०० जनाको उपस्थिति रहेको थियो ।
 
उक्त कार्यक्रमको प्रथम चरणमा कानेपोखरी बजारमा बिभिन्न सचेतना मुलक ब्यानर तथा प्ले कार्ड सहितको र्‍याली निकालिएको थियो भने दोस्रो चरणमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले आत्महत्याको बृद्धि तिब्र रूपमा बढि रहेको र यसलाई न्यूनीकरण गर्न समयमानै सबैले आ-आफ्नो ठाउँबाट क्रियाशिलता देखाउन जरूरी रहेको कुरा बताउनु भयो ।
 
त्यस्तै मनोचिकित्सक डा. रोशन पोखरेलले आत्महत्या न्यूनीकरण गर्नको निमित्त गर्नु पर्ने ब्यवहार तथा आत्महत्या बढ्नुको कारण समेत प्रष्ट पार्दै सागर्भित मन्तब्य राख्नु भएको थियो ।  कार्यक्रममा कानेपोखरी गाउँपालिकाका प्रमुख तारा बहादुर काफ्लेले आत्महत्या रोकथामको लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनु भएको थियो ।